बेलहिया नाकामा पर्यटकको झन्झट हटाउन ‘एकद्वार प्रणाली’ लागू गरिने

डिसी नेपाल
२० कार्तिक २०८३ ९:२२

रुपन्देही । नेपाल प्रवेश गर्ने प्रमुख स्थलमार्ग बेलहिया नाकामा पर्यटकले भोग्दै आएको प्रशासनिक झन्झट हटाउन लुम्बिनी प्रदेश सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्ने भएको छ। सीमा क्षेत्रमा हुने पटक–पटकको चेकजाँच र अनावश्यक रोकावट अन्त्य गर्दै पर्यटकको आवागमन सहज बनाउन प्रदेश सरकारले यस्तो तयारी गरेको हो।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु र शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोषकुमार पाण्डेले बेलहियास्थित पर्यटक सूचना केन्द्रको निरीक्षण गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्।

निरीक्षणका क्रममा मन्त्रीद्वयले नेपाल प्रवेश गर्ने पर्यटकले सीमामै सहज, छरितो र प्रभावकारी सेवा पाउनुपर्नेमा जोड दिए। उनीहरूका अनुसार पर्यटकले नेपाल प्रवेश गर्ने पहिलो बिन्दुमै पाउने सेवा र व्यवहारले देशको पहिचान तथा आतिथ्य सत्कारको छवि निर्माण गर्छ।

आर्थिक मामिला तथा योजना मन्त्री थारुले बेलहिया नाका नेपाल भित्रिने पर्यटकका लागि पहिलो सम्पर्क बिन्दु भएकाले यहाँको सेवा पर्यटकमैत्री बनाउन आवश्यक रहेको बताए। प्रवेश बिन्दुमै राम्रो अनुभव दिन सके त्यसले नेपालको समग्र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो। पर्यटक सूचना केन्द्रको प्रभावकारी सञ्चालन र आवश्यक पूर्वाधार तथा सेवा विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

यस्तै, मन्त्री पाण्डेले बेलहिया नाकामा देखिँदै आएको चेकजाँच र प्रशासनिक झन्झट हटाउन एकद्वार प्रणाली छिट्टै कार्यान्वयनमा ल्याइने बताए। यसका लागि अब धेरै समय कुर्नु नपर्ने उनको भनाइ छ।

प्रस्तावित व्यवस्थाअनुसार नेपाल प्रवेश गर्ने पर्यटक र उनीहरूका सवारीसाधनको जाँच एकै स्थानमा गरिनेछ। त्यसका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, भन्सार कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गर्ने व्यवस्था मिलाइनेछ।

सबै निकायबाट आवश्यक जाँच पूरा भएपछि पर्यटकलाई विशेष कार्ड उपलब्ध गराइनेछ। उक्त कार्ड सवारीसाधनमा टाँस्न वा आफूसँगै राख्न सकिनेछ। त्यसपछि बाटोमा विभिन्न स्थानमा रोकेर पुनः जाँच गर्नुपर्ने अवस्था अन्त्य हुने र कार्डकै आधारमा आवश्यक प्रक्रिया पूरा भएको पुष्टि गर्न सकिने मन्त्री पाण्डेले बताए।

एकद्वार प्रणाली लागू भएपछि विशेषगरी भारतीय पर्यटक तथा स्थलमार्ग हुँदै नेपाल आउने अन्य विदेशी पर्यटकलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ। यसले पर्यटकको समय बचत गर्नुका साथै सीमा क्षेत्रमा हुने अनावश्यक रोकावट घटाउने र नेपालको पर्यटनमैत्री छवि निर्माणमा सहयोग पुर्‍याउने विश्वास प्रदेश सरकारको छ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा आसपासका पर्यटकीय गन्तव्यमा आउने विदेशी पर्यटकका लागि बेलहिया नाका प्रमुख प्रवेशद्वार हो। तर, नेपाल प्रवेश गरेपछि सूचना प्राप्ति, सहजीकरण तथा विभिन्न निकायका प्रक्रियामा पर्यटकले अझै झन्झट व्यहोर्नुपरेको छ।

यस्तो अवस्थामा पर्यटक सूचना केन्द्रको सेवा विस्तार र एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयनले बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको यात्रा सहज बनाउनुका साथै लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *